अध्ययन बिदापछि सेवामा नफर्किएका प्राध्यापक खोज्दै त्रिवि, सम्पर्कमा नआए खोजेर कारबाही


काठमाडौं, असार ३ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर फरार रहेका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज एक सूचना जारी गर्दै अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक र कर्मचारीलाई तत्काल सम्पर्कमा आउन निर्देशन जारी भएको हो ।

सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ ।