प्रवक्ता र संयोजकसहित काठमाडौँ महानगरका कार्यवाहक प्रमुख डङ्गोल इजरायल प्रस्थान


काठमाडौँ । इजरायलको तेल अभिभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, इजरायल प्रस्थान गरेका छन् ।

इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा डङ्गोलसँगै प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा शनिबार रातिको उडानबाट कार्यक्रमका लागि प्रस्थान गरेका हुन् । ‘सफल साझेदारी (वीनिङ पार्टनरसिप)’ शीर्षकमा हुने सम्मेलनमा भाग लिन विश्वका १५० भन्दा धेरै सहरका प्रमुख, नगरपालिकाका नेताहरू, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरूको सहभागिता हुनेछ ।

असार ९, १० र ११ गते (जुन २३,२४ र २५ तारिख) गरी ३ दिन चल्ने कार्यक्रममा नेपालबाट काठमाडौँसहित पोखरा महानगरपालिका र जनकपुर नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरू सहभागिताका लागि गएका छन् ।

सहरी व्यवस्थापनका उन्नत तथा नवीन प्रविधिहरू, नवीन नगरपालिकाका अभ्यासहरू र स्थानीय शासनका असल तथा सफल मोडलका विषयमा आपसी ज्ञान, सिप र अनुभव आदान प्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य हो । यसका लागि विषयगत सम्मेलन र व्यावसायिक सञ्जाल निर्माण सत्रहरू सञ्चालन हुनेछन् ।