रास्वपा महाधिवेशन : ‘वरिष्ठ नेता’ पदमा निर्वाचन नगर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘वरिष्ठ नेता’ पदमा निर्वाचन नगर्ने भएको छ । पार्टीको पहिलो महाधिवेशनमा उक्त पदका लागि चुनाव नगरिने निर्णय गरिएको हो ।

फागुन २१ गते सम्पन्न आमनिर्वाचनअघि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहलाई पार्टीमा समाहित गर्ने उद्देश्यले ‘वरिष्ठ नेता’ पद सिर्जना गरिएको थियो । त्यसबेला पार्टीको विधानमा उक्त पदको व्यवस्था नभए पनि पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा प्रस्तावित विधान संशोधनमार्फत यो पद थपिएको थियो । संशोधित विधानलाई महाधिवेशनले औपचारिक रूपमा पारित गर्न भने बाँकी छ ।

पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार वरिष्ठ नेता पदमा चुनाव नहुने भएकाले हालका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले केन्द्रीय सदस्यका लागि समेत प्रतिस्पर्धा गर्नुपर्ने छैन ।

चितवनको भरतपुरमा आइतबारदेखि सुरु हुने रास्वपाको पहिलो महाधिवेशनमा वरिष्ठ नेता बाहेक केन्द्रीय समितिका सदस्य र पदाधिकारी पदका लागि निर्वाचन हुने देखिएको छ। उद्घाटन सत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

२०७९ असार ७ गते स्थापना भएको रास्वपाले चार वर्षपछि पहिलो पटक महाधिवेशन आयोजना गर्न लागेको हो ।