काठमाडौं, असार ८ । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ।
भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६–००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–२६ दिव्यनगर निवासी २२ वर्षीय अशोक भण्डारी र स्कुटरको पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्दै आएका १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएका थिए।
उनिहरूलाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा आज बिहान २ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ निवासी २७ वर्षीय बाबुलाल थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया