चितवन । चितवनमा आइतबारदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशन जारी छ । आज बिहान साढे ८ बजेबाट बन्द सत्र सुरू गर्ने कार्यतालिका भएपनि ११:३० सम्म सुरु हुन सकेको छैन ।
प्रतिनिधिहरूको नामावली त्रुटि रहेको र सच्याउने क्रम जारी रहेकोले बन्दसत्र सुरू हुन नसकेको प्रवक्ता मनीष झाले जानकारी दिए । प्रतिनिधिहरूको नाम, थर, ठेगाना नै नमिलेका कारण उनीहरूको सच्याउने काम भइरहेको उनले बताए । निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो ।
आजको बन्दसत्रमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने तालिका रहेको छ ।
त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन,सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित‘‘विधान संशोधन प्रस्ताव’ र उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको ‘अर्थ–राजनीतिक प्रस्तावना’ पेस गर्नेछन् । ती प्रस्ताव र प्रतिवेदन पारित गरेपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।



प्रतिक्रिया