यादेआकाे उच्च प्रदर्शनयुक्त विद्युतीय मोटरसाइकल सार्वजनिक, यस्तो छ विशेषता…


काठमाडौं । विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे ब्रान्ड यादेआ ले आफ्नो बहुप्रतीक्षित किनेस मोटरसाइकल नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. मार्फत सार्वजनिक गरिएको यो मोटरसाइकलले नेपाली बजारमा उच्च प्रदर्शनयुक्त विद्युतीय सवारीको नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।

दैनिक आवतजावतका लागि मात्र सीमित नभई गति, शक्ति, आकर्षक डिजाइन र प्रिमियम सवारी अनुभवलाई प्राथमिकतामा राखेर किनेस  विकास गरिएको कम्पनीले जनाएको छ। आधुनिक प्रविधि र शक्तिशाली प्रदर्शन चाहने चालकलाई लक्षित गर्दै यो मोटरसाइकल बजारमा ल्याइएको हो।

कम्पनीका अनुसार किनेसमा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मध्य-सञ्चालित मोटर जडान गरिएको छ । जसले ३०० एनएम टर्क उत्पादन गर्छ। यसले तीव्र गति वृद्धि र उत्कृष्ट सडक प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

 मोटरसाइकलले शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमै हासिल गर्न सक्ने तथा यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टासम्म पुग्ने बताइएको छ। नेपालका विभिन्न सडक र उकालो बाटोलाई ध्यानमा राखेर डिजाइन गरिएको किनेसले २० डिग्रीसम्मको चढाइ सहजै पार गर्न सक्छ। यसले कठिन सडकमा पनि सहज र भरपर्दो सवारी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

यसमा ४.६ किलोवाट-घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले सुरक्षित र भरपर्दो बनाएको छ। कम्पनीका अनुसार यसले ब्याट्रीलाई सुरक्षित ,भरपर्दो र आयु बढाउनुका साथै लामो समयसम्म स्थिर प्रदर्शन दिन सहयोग पुर्‍याउँछ।

किनेसले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेड डट डिजाइन अवार्डसमेत प्राप्त गरिसकेको छ, जसले यसको आधुनिक डिजाइन र उन्नत प्रविधिलाई पुष्टि गर्ने बताइएको छ।

कार्यक्रममा बोल्दै कुजु नेपालका प्रतिनिधिले किनेस केवल यातायातको साधन मात्र नभई शक्ति, प्रदर्शन र रोमाञ्चक अनुभवको संयोजन भएको बताए। उनले नेपालमा विद्युतीय मोटरसाइकलप्रतिको धारणा बदल्न यो मोडेलले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नेपालमा किनेसको मूल्य रु. ६ लाख ६० हजार तोकिएको छ। उच्च प्रदर्शन, नवीन प्रविधि र प्रिमियम सवारी अनुभव खोज्ने ग्राहकका लागि यो आकर्षक विकल्प बन्न सक्ने कम्पनीको अपेक्षा छ।

सन् २००१ मा स्थापना भएको यादेआ हाल विश्वका १५० भन्दा बढी देशमा सेवा विस्तार गर्न सफल भइसकेको छ ।