दृष्टिविहीन माइतीघरमाः विकल्प नदिए महानगरविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकपेटी व्यवस्थापनका नाममा आफूहरूमाथि अमानवीय व्यवहार गरेको भन्दै दृष्टिविहीनहरू आन्दोलित भएका छन् । उचित विकल्प र पुनस्र्थापनाको व्यवस्था नै नगरी महानगरले बलपूर्वक सडकपेटीबाट हटाएको र जीविकोपार्जनको अधिकार खोसेको भन्दै उनीहरू केही दिनयता राजधानीको माइतीघर मण्डलामा निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।
महानगरको नगर प्रहरीले सडकपेटीमा व्यापार गरेर वा कला प्रस्तुत गरेर गुजारा चलाउँदै आएका दृष्टिविहीनहरूमाथि धरपकड र दमन गरेको प्रदर्शनकारीहरूको आरोप छ ।
माइतीघरमा प्लेकार्डसहित धर्नामा बसेका आन्दोलनकारीहरूले स्थानीय सरकार र संघीय सरकार दुवैले आफूहरूको पीडाप्रति आँखा चिम्लेको गुनासो गरे । महानगरले उचित ठाउँ वा रोजगारीको ग्यारेन्टी नगरेसम्म आन्दोलन नरोकिने उनीहरूको भनाइ छ ।
काठमाडौँ महानगरपालिकाले भने सडकपेटी पैदलयात्रुको मात्र अधिकार भएको भन्दै व्यापार वा अन्य गतिविधि सञ्चालन गर्न नदिने आफ्नो नीतिमा अडिग रहेको देखिन्छ । तर, समाजका सबैभन्दा संवेदनशील र अपाङ्गता भएका नागरिकहरूमाथि बल प्रयोग गरिएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि महानगरमाथि नैतिक दबाब बढेको छ ।