काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटउपर बहस सकिएको छ ।
पौडेल पत्नी दोमाया पौडेलले दायर गरेको रिटउपर सुनुवाइको लागि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेशी चढेको थियो । रिटमा राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएको भन्दै दोमायाले रिहाइको आदेश माग गरेकी छन् ।
बहसको क्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रमेश बडाल, ईश्वरी भट्टराईलगायतले पौडेललाई जरुरी पक्राउ पुर्जी जारी गर्नुपर्ने अवस्था नभएको बताएका छन् ।
पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र कमलकिशोर मालपानी समूहको शेयर लेनदेनमा चिनजान गराइदिएको बयानका आधारमा पक्राउ गरी मंगलबार ५ दिनको म्याद थप गरेको थियो ।



प्रतिक्रिया