ग्रिनेड विस्फोट हुँदा सेनाका हुद्दाको मृत्यु


धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको छ । त्यस्तै सहसेनानी हिमराज जोशी छर्रा लागेर घाइते भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो १२ बजेतिर हुद्दा बिष्टको मृत्यु भएको हो ।

घाइतेको अवस्था सामान्य रहेको छ । उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।

बिहीबार बिहान ९:१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका नेपाली सेनाका मृतक बिष्ट ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए ।