कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले १२ बर्षको मेहनत खेर जिम्मेवार को? जवाफ दे, हाम्रो भविष्य बर्बाद भयो, हामी न्याया खोज्न कहाँ जाँउ ? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साह लगायतका विद्यार्थीहरूले गरेका थिए ।

गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन् ।