जिप दुर्घटना हुँदा स्वर्गद्वारी नगर उपप्रमुखको मृत्यु


बुटवल । जिप दुर्घटना हुँदा प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उमप्रमुख मीनराज राना मगरको मृत्यु भएको छ ।

स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको नाममा रहेको बोलेरो पिकअप जिप स्वर्गद्वारी नगरपालिका वडा नं २ बाङ्गेसल्लामा दुर्घटना हुँदा  ५० वर्षीय राना मगरको मृत्यु भएको हो ।

शनिबार साँझ पौने ५ बजेतिर उपप्रमुख राना आफैंले चलाएको जिप सडकदेखि करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी नगरपालिकाको योजना अनुगमन गर्न गएका थिए । दुर्घटनामा पुर्न अघि नगरपालिलाका कर्मचारी सँगै अनुगमनमा निस्किएका उनी कर्मचारीलाई छाडेर पुन: अर्को योजना अनुगमन गरी घर जाने गरी एक्लै गाडीमा सवार रहेको स्वर्गद्वारी नगरपालिकाका वडाध्यक्ष गिरबहादुर गुरुङले बताए ।

गुरुङका अनुसार उनको गाडीले च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो । जंगलमा पशुचौपाया चराउन आएका गोठालाले देखेपछि दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक राना राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए ।