निजी मेसेज भाइरल भएपछि सुजनले भने- विगतका कुराकानीप्रति माफी चाहन्छु, कमजोरी भयो


काठमाडौं, असार १३ । चर्चित गायक सुजन चापागाईले पछिल्लो समय सामाजिक सञ्जालमा आफ्ना निजी मेसेजहरूको स्क्रिनसट भाइरल भएपछि स्पष्टीकरण दिँदै माफी मागेका छन्। हाल साङ्गीतिक भ्रमणको सिलसिलामा अस्ट्रेलियामा रहेका चापागाईले शनिबार विज्ञप्ति जारी गर्दै भाइरल सामग्रीहरूप्रति दुःख व्यक्त गर्दै माफी मागेका हुन् ।

विज्ञप्तिमा चापागाईले विगतमा आफूले नजिक ठानेका साथीहरूसँग मेसेज आदानप्रदान गरेको कुरा सत्य भएको स्वीकार गर्दै उक्त मेसेजहरूका कारण सिर्जना भएको परिस्थितिका लागि अन्तरहृदयदेखि नै माफी मागेका छन्। अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएका सबै सामग्रीहरूमा आफ्नो संलग्नता रहेको उनले स्पष्ट पार्न खोजेका छन्।

आफ्नो सामाजिक सञ्जाल व्यवस्थापनमा कमजोरी भएको स्वीकार्दै उनले भनेका छन्, ‘मेरो सामाजिक मिडिया मैले मात्र ह्यान्डल गर्न सम्भव नभएकाले विभिन्न समयमा म्यानेजरहरूले व्यवस्थापन गर्ने गरेका थिए, सोही समयमा कतै दुरुपयोग भयो कि भन्ने मेरो प्रारम्भिक अनुमान छ।’ साथै, आफ्नो नाममा धेरै नक्कली अकाउन्टहरू सक्रिय रहेको पनि उनले दाबी गरेका छन्।

गायक चापागाईले यस्ता कार्यविरुद्ध छानबिन प्रक्रिया सुरु गरिसकेको र नेपाल फर्किएलगत्तै कानुनी उपचार खोज्ने बताएका छन्। आफ्ना दर्शक, परिवार र शुभेच्छुकहरूप्रति प्रतिबद्धता जनाउँदै उनले भनेका छन्, ‘आगामी दिनमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साक्षरतालाई थप बलियो बनाउनेछु। हजुरहरूले गर्नुभएको विश्वासलाई गुम्न दिने छैन।’