प्रधानमन्त्रीले दिए महावीर पुनलाई संसद्को जिम्मेवारी


काठमाडौं, असार १४ । प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई संसद्को जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री शाहले आज ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा आफ्नो तर्फबाट महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन २०८३ पेस गर्ने जिम्मा मन्त्री पुनलाई दिएका हुन् ।

संसद सचिवालयकाअनुसार प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव गर्नेछन् । त्यसपछि उक्त विधेयकलाई मन्त्री पुनले सदनमा प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिले प्रमाणीकरण गरेको वैकल्पिक वित्त परिचालन विधेयक सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ ।

यसैगरी,अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेर अनुमति प्राप्त भएपछि विधेयक प्रस्तुत गर्नेछन् ।

यसैगरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्न अनुमति माग्ने र त्यसपछि विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसपछि आर्थिक विधेयक २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुनेछ । संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन् । विधेयक आजै पारित गर्ने कार्यसूची छ ।

त्यसपछि अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । छलफलपछि यो विधेयकमाथि परेका संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । अनि अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । सभाले विधेयक पारित गरेपछि आगामी आव ०८३/०८४ को बजेट पारित हुनेछ ।