गणतन्त्र जोगाउन कम्युनिस्टहरू मिलेर अघि बढ्नुपर्छ : माधव नेपाल


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गरेर अगााडि बढ्नुपर्ने बताएका छन् ।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलकई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले जनताको बदलिंदो मनोविज्ञानलाई बुझ्न सकेनौं, या हामीमा के के विकृति आए ? यसको आत्मसमीक्षा गरौं,’ सहसंयोजक नेपालले भने, ‘यो एउटा पार्टीको मात्रै कुरा होइन । नेपालका जति पनि कम्युनिस्ट घटक छन्, त्यसको आत्ममन्थन गर्न सक्नुपर्छ । त्यो गर्न सक्यौं भने मात्रै हामीले कम्युनिस्टहरूलाई एक बनाउन सक्छौं ।’

साथै, उनले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने आवश्यकता आजको रहेको जिकिर गरे ।

‘अब हामी कसरी अघि बढ्ने ? समाजवादी क्रान्तिको यो चरणमा प्रवेश गरेपछि कसरी नेपाली समाजलाई अघि बढाएर लैजाने हो ? त्यसका निम्ति कहाँबाट हामी चुक्यौं ? कहाँ गल्ती गर्‍यौं यो उचाइमा पुगेको कम्युनिस्ट पार्टी आज किन कमजोर भएको छ ? हामी सबैले आत्मसमीक्षा गरौं,’ नेपालले भने ।