काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व २०८३ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना व्यक्त गर्दै उनले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानका लागि साझा प्रतिबद्धताको आवश्यकता रहेको बताएका छन्।
धान नेपालको प्रमुख खाद्यान्न बाली मात्र नभई ग्रामीण अर्थतन्त्रको मेरुदण्ड र नेपाली सभ्यताको अभिन्न हिस्सा भएको उनको भनाइ छ। नेता आङदेम्बेले कृषि क्षेत्रमा लगानी वृद्धि, आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय बीउ–बिजन, पर्याप्त मलखाद, भरपर्दो सिँचाइ तथा कृषि उपजको सुनिश्चित बजार व्यवस्था आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गरे।
नेपालको संविधानले सुनिश्चित गरेको नागरिकको खाद्यसम्बन्धी हकको प्रभावकारी कार्यान्वयनका लागि किसानमैत्री नीति, उत्पादनमुखी कृषि प्रणाली तथा कृषि क्षेत्रमा राज्यको लगानी अझ प्रभावकारी बनाउन आवश्यक रहेको उनले स्पष्ट पारे। आज पनि किसानहरू समयमै मल, बीउ, सिँचाइ तथा उत्पादनको उचित मूल्य नपाउने समस्याबाट पीडित रहेको र जलवायु परिवर्तनका कारण कृषिमा थप चुनौती सिर्जना भएको उनले बताए।
यी चुनौतीहरूको सामना गर्न कृषि अनुसन्धान, जलवायुमैत्री प्रविधिको विकास, कृषि बिमा तथा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न जरुरी रहेको आङदेम्बेको भनाइरु छ ।
नेपाली कांग्रेस किसानका हक–हितको संरक्षण, कृषिको आधुनिकीकरण, खाद्य सुरक्षाको सुनिश्चितता तथा कृषिको दिगो विकासका पक्षमा सदैव प्रतिबद्ध रहेको उनले बताए।



प्रतिक्रिया