असार २२ देखि एनसेलले थ्रीजी सेवा बन्द गर्ने


काठमाडौं । एनसेलले थ्रीजी सेवा बन्दको तयारी गरेको छ । नयाँ प्रविधिमा आधारित सेवा विस्तार गर्ने योजनाअनुसार कोसी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा असार २२ गतेदेखि थ्रीजी सेवा बन्द गर्न लागेको हो । कम्पनीले उच्च गुणस्तरको भ्वाइस तथा डाटा सेवा उपलब्ध गराउने उद्देश्यले ग्राहकलाई भोल्टे सेवा सक्रिय गर्न आग्रह गरेको छ ।

कम्पनीका अनुसार भोल्टे सेवा सक्रिय गर्न *१७१३# डायल गर्न वा मोबाइलको सेटिङमा गएर भोल्टे ‘अन’ गर्न सकिने जनाएको छ । भोल्टे प्रयोग गरेपछि ग्राहकले अझ स्पष्ट आवाज र गुणस्तरीय डाटा सेवाको अनुभव लिन सक्ने एनसेलको दाबी छ ।

एनसेलका अनुसार हाल देशको करिब ९५ प्रतिशत जनसंख्यामा फोरजी नेटवर्क विस्तार भइसकेको छ । त्यसैले पुरानो थ्रीजी सेवालाई क्रमशः बन्द गर्दै ग्राहकलाई आधुनिक प्रविधिमा आधारित छिटो, भरपर्दो र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने अभियानलाई कम्पनीले अगाडि बढाइरहेको जनाएको छ ।