काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय धान दिवस तथा दहि-चिउरा खाने दिनको अवसरमा शुभकामना व्यक्त गर्दै अन्नदाता किसानप्रति उच्च सम्मान प्रकट गरेका छन्। उनले नेपाल कृषि प्रधान देश भएकाले कृषि हाम्रो सभ्यता, संस्कृति र अर्थतन्त्रको प्रमुख आधार रहेको बताएका छन्।
थापाले असार १५ केवल धान रोपाइँको दिन मात्र नभई किसानको श्रम, संघर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको उल्लेख गरेका छन् । खेतमा रोपिने प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा र राष्ट्रको समृद्धि जोडिएको उनको भनाइ छ।
उनले नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको स्मरण गराउँदै धानको उत्पादकत्व वृद्धि गर्नु केवल कृषि कर्म मात्र नभई नागरिकको जीवन सुरक्षा र संविधानको मर्म कार्यान्वयनसँग जोडिएको बताएका छन्।
शुभकामना सन्देशमा उनले हरेक वर्ष किसानहरूले बीउ, मल, सिँचाइ तथा उचित मूल्यको अभावमा संघर्ष गर्नुपरेको यथार्थ औंल्याएका छन्। साथै नेपालको धान खेती अझै पनि ठूलो मात्रामा वर्षा र आकाशे पानीमा निर्भर रहनु परेको उल्लेख गर्दै जलवायु संकटले कृषिमा थप चुनौती सिर्जना गरेको बताएका छन्।
यस वर्षको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ लाई स्मरण गर्दै थापाले मौसमअनुकूल र वातावरणमैत्री कृषि प्रविधिको प्रवर्द्धन आजको आवश्यकता भएको बताएका छन्। यस्तो प्रविधिले प्रतिकूल मौसमका बीच पनि उत्पादन बढाउन सहयोग पुग्ने र चामल आयातमा निर्भरता घटाउँदै खाद्य सम्प्रभुता सुदृढ हुने उनको विश्वास छ।
थापाले सिँचाइ विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग, उन्नत बीउ, गुणस्तरीय मल, भण्डारण तथा उचित मूल्यको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन्। उनले किसानको श्रमलाई सम्मान गर्दै कृषिलाई सम्मानित, मर्यादित र आकर्षक पेशाका रूपमा विकास गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्।



प्रतिक्रिया