काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम आज र भोली(असार १५ र १६) सञ्चालन हुनेछ ।
कार्यक्रमको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा सोमबार गरे । उनले कार्यक्रमको उद्घाटन गर्दै सांसदहरूको हरेक गतिविधिको आम जनताले निरन्तर मूल्यांकन गरिरहेको भन्दै सोहीअनुसार अब्बल व्यवहार प्रदर्शन गर्न अनुरोध गरेका छन्।
उनले कार्यक्रममा सांसदहरूको उपस्थितिमा न्यून देखिएपछि असन्तुष्टि समेत व्यक्त गरे। उनले कार्यक्रममा समयमै उपस्थित हुन सांसदहरुलाई निर्देशन पनि दिए ।
‘हामी लाखौँ जनताले मत दिएर पठाएका जिम्मेवार नागरिक हौँ। आज कार्यक्रममा समयमै उपस्थिति हुनेदेखि हाम्रा हरेक गतिविधिलाई जनताले मूल्यांकन गरिरहनुभएको छ,’ सभामुख अर्यालले भने ।
सभामुख अर्यालले तालिमका क्रममा मोबाइलमा नघोरिन र आपसमा गफगाफ नगर्नसमेत सांसदहरूलाई सचेत गराए।
‘हतार नगरी, भित्र बस्दाखेरि साइड टक नगरी र मोबाइलमा धेरै अभ्यस्त नभई समय र पैसा खर्च गरेर आइसकेपछि केही सिकेर जाऔँ,’ अर्यालले भने ।



प्रतिक्रिया