चिनियाँ कम्युनिस्ट पार्टीका आलोचकलाई अमेरिकामा ३० वर्षको जेल सजाय


न्युयोर्क । एक समय चीनका सबैभन्दा धनी व्यवसायीहरूमध्ये एक मानिएका घरजग्गा व्यवसायी जुओ वेनगुईलाई अमेरिकामा एक अर्ब डलर बराबरको घोटाला गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ। 

सन् २०१७ मा चीनबाट भागेर अमेरिका पुगेका उनले त्यहाँ आफूलाई चिनियाँ कम्युनिस्ट पार्टीको कडा आलोचकका रूपमा स्थापित गर्दै सामाजिक सञ्जालमा ठुलो संख्यामा समर्थकहरू कमाएका थिए। 

तर, पछि उनीमाथि संगठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरणको आरोप लाग्यो र उनी दोषी ठहरिए। न्युयोर्क अदालतकी न्यायाधीश एनालिसा टोरेसले जुओले ‘चीनमा लोकतन्त्र ल्याउन चाहनेहरूलाई नै आफ्नो सिकार बनाएको’ र उनीहरूको पैसा आफ्नै विलासी जीवनको लागि प्रयोग गरेको बताएकी छन्।

माइल्स जुओ र हो वान क्वोकजस्ता विभिन्न नामले समेत चिनिने उनलाई आफ्ना समर्थकहरूले भरिएको अदालतको कोठामा सजाय सुनाइएको थियो। अमेरिकी सरकारी वकील शन एस बकलीले बीबीसीसँग कुरा गर्दै जुओले आफूलाई उपलब्ध कानुनी अवसरहरूमा सन्तुष्ट हुनुको साटो लोभका कारण हजारौँ मानिसले गरेको विश्वासको दुरुपयोग गरेको बताएका छन्। 

उनले थपे, ‘आजको सजायले यो देखाउँछ कि प्रसिद्धि र धनले कसैलाई पनि कानुनभन्दा माथि राख्दैन, र परिवारहरूलाई ठगेर आफू धनी बन्ने जालसाजहरूले ठुलो परिणाम भोग्नुपर्नेछ।’ चीन छोड्नुअघि घरजग्गा व्यवसायबाट प्रचुर सम्पत्ति कमाएका जुओको त्यहाँको सरकारसँग राम्रो सम्बन्ध थियो। तर चिनियाँ उच्च अधिकारीहरूले भ्रष्टाचारको आरोप लगाएपछि उनी राजनीतिक शरण खोज्दै अमेरिका पुगेका थिए।

अभियोजकहरूका अनुसार जुओले सन् २०१८ देखि २०२३ को अवधिमा लगानी र क्रिप्टोकरेन्सी योजनाहरू सञ्चालन गरेर आफ्ना अनलाइन समर्थकहरूबाट एक अर्ब डलरभन्दा बढी रकम उठाएका थिए। उठाएको सो रकम उनले आफ्नो भव्य जीवनशैलीका लागि ५० हजार वर्गफिटको घर, १० लाख डलरको ल्याम्बोर्गिनी कार र ३ करोड ७० लाख डलरको विलासी डुङ्गा किन्नमा खर्च गरेका थिए। यद्यपि, जुओले यी आरोपहरू अस्वीकार गर्दै उक्त रकम आफ्नो राजनीतिक गतिविधिका लागि प्रयोग भएको दाबी गरेका छन्। 

उनले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्याननसहित चीनका अन्य आलोचकहरूसँग पनि बलियो सम्बन्ध बनाएका थिए। ब्यानन र जुओ प्रायः अनलाइन भिडियोहरूमा सँगै देखिन्थे र उनीहरूले सन् २०२० मा चिनियाँ कम्युनिस्ट पार्टीलाई सत्ताच्युत गर्ने उद्देश्यले ‘न्यु फेडरल स्टेट अफ चाइना’ नामक अभियान सुरु गरेका थिए।

सोही वर्ष ब्याननलाई कनेक्टिकटमा जुओकै विलासी डुङ्गाबाट पक्राउ गरिएको थियो। ब्याननमाथि अमेरिका-मेक्सिको सीमामा पर्खाल निर्माणका लागि चन्दा दिने मानिसहरूलाई ठगी गरेको अर्को एउटा छुट्टै मुद्दा लागेको थियो। 

ब्याननले म्यानहट्टन अदालतमा पहिलो डिग्रीको ठगी योजनाको आरोपमा आफ्नो गल्ती स्वीकार गरेपछि तीन वर्षको ससर्त रिहाईको सजाय पाएका थिए। उनले पर्खाल अभियानकै विषयमा सङ्घीय आरोपहरूको पनि सामना गर्नु परेको थियो तर ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालको अन्तिम समयमा उनलाई माफी दिएपछि त्यो कानुनी कारबाही रोकिएको थियो। एजेन्सी