परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल


काठमाडौं, असार १७ । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्तामा नतिजा सार्वजनिक गरेको छ ।

विश्वविद्यालयले समय सापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्य अनुरुप परीक्षा सम्पन्न भएको सातौं दिनमा तीनवटै संकायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समितिका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले जानकारी दिए ।

विश्वविद्यालयले एक वर्ष यता व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एण्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एण्ड टेक्नोलोजी) का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेशन एण्ड सोसिएल साइन्स) संकायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेकोमा तीनवटै संकायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको उनले बताए ।

प्रकाशित परीक्षाफलमा व्यवस्थापन र कानुन संकाय (म्यानेजमेन्ट एण्ड ल)मा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि (साइन्स एण्ड टेक्नोलोजी) संकायमा ७९.०३ प्रतिशत र शिक्षा तथा सामाजिक विज्ञान(एजुकेशन एण्ड सोसिएल साइन्स) संकायमा ८९.४४ प्रतिशत विद्याथी उत्तीर्ण भएको विश्वविद्यालयले जनाएको छ ।