काठमाडौं, असार १८ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरे पनि व्यवहारमा राजनीतिक नियुक्तिलाई नै निरन्तरता दिएको आरोप लगाएका छन्।
पोखरेलले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएर विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने सरकारको दाबी विश्वविद्यालय सेवा आयोगको अध्यक्ष नियुक्तिबाट खण्डित भएको बताएका हुन्।
उनले मेयर पदका उम्मेदवार बनेका पूर्वसचिवलाई विश्वविद्यालय सेवा आयोगको अध्यक्ष नियुक्त गरिएको उल्लेख गर्दै त्यसले सरकारको ‘असली अनुहार’ उजागर गरेको दाबी गरे।
‘बालेन सरकारको गजबको तरिका। विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गर्दै विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको असली अनुहार मेयरको उम्मेदवार बनेका पूर्वसचिवलाई विश्वविद्यालय सेवा आयोगको अध्यक्षको कुर्सीमा पुर्याएर उदांगिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखे, ‘राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेश मार्फत रिक्त गरिएको पदमा आफ्नो दलको खास मान्छे भर्ती गर्ने कुरा ‘जान्नेलाई छान्ने’ को गजबको तरिका रहेछ। हैन र!’



प्रतिक्रिया