वर्षापछि कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा


धनगढी । गत रातिदेखि परेको निरन्तर वर्षाका कारण तराईका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेका छन्। अविरल वर्षाले प्रदेशको अस्थायी राजधानी धनगढीका अधिकांश बस्ती र सडकसमेत डुबानमा परेका छन्।

धनगढीका मुख्य सडक, गल्ली, नाला र होचा बस्तीमा पानी जम्दा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ। डुबानका कारण सवारीसाधन सञ्चालन तथा पैदल आवतजावतमा समेत समस्या देखिएको छ।

लगातार वर्षा भइरहेकाले डुबानसँगै बाढीको जोखिमसमेत बढेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायहरूले नदी, खोलानाला आसपास र होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

मौसम पूर्वानुमान विभागका अनुसार अझै वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले सबैलाई अनुरोध गरेको छ।