काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अमेरिका पठाउन लागिएको सुनचाँदीका गहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापा, बौछका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेको विमान सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिए ।
उनीहरुले जुत्ता, पाइन्ट साडीलगायतका कपडा भन्दै सुनको गहनाहरू नौगेडी, चन्द्रमा, जन्तर, सिंगल र डबल ब्रोच, शिरफूल, नेपालको झण्डा अङ्कित ब्रोच, खुकुरी आकारको ब्रोच, मङ्गलसूत्र, मोतीमाला, रानीहार र त्रिशूल अमेरिका पठाउन लागेको थियो।
१६ असारको साँझ साढे ५ बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा मेनफिस्ट न. एएमएस एपी ३२१ मा जुत्ता, पाइन्ट, साडी लगायतका कपडाहरु भएको कार्गो बाकसबाट ठूलो मात्रामा सुनका गरहना बरामद भएका हुन् ।
पक्राउ परेका दुवै व्यक्ति र बरामद गहना आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको सिलवालले बताए ।



प्रतिक्रिया