काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी (पासपोर्ट) छपाइमा हुन लागेको अर्बौँको आर्थिक चलखेल र संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपप्रति आपत्ति जनाएको छ । बिहीबारको जारी प्रतिनिधिसभा बैठकमा सुरुमा बोल्दै कांग्रेसका सांसद खडकबहादुर बुढाले भ्रष्टाचारको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र त्यसमा आफ्नै पार्टीका नेता वा मन्त्री संलग्न भए पनि उन्मुक्ति दिन नहुने बताए ।
सांसद बुढाले पासपोर्ट छपाइ खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको बताए । ‘पासपोर्ट छपाइमा जो कोही भए पनि, चाहे हाम्रै पार्टीका नेता वा मन्त्री किन नहुन्, जतिसुकै शक्तिशाली भए पनि कारबाहीको दायरामा आउनुपर्छ। निष्पक्ष र कानुनसम्मत छानबिनमा हाम्रो पूर्ण साथ रहनेछ,’ बुढाले भने ।
सांसद बुढाले राहदानी विभागका महानिर्देशकलाई धम्क्याएर सस्तोमा आपूर्ति हुने नयाँ सम्झौता खारेज गरी पुरानै कम्पनीबाट प्रति पासपोर्ट २ डलर महँगोमा खरिद गर्न दबाब दिइएको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बन्धक जस्तै बनाइएकोप्रति पनि उनले आपत्ति जनाए ।



प्रतिक्रिया