क्रियाशील सदस्यता वितरण प्रभावकारी बनाउन  जिल्ला अध्यक्षहरूलाई तरुण दलको निर्देशन


काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पार्टीको आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै देशभर ‘क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता वितरण अभियान’ प्रभावकारी बनाउन भन्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।

तरुण दलका अध्यक्ष मनिष कोइरालाले ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र जारी गर्दै केन्द्रीय प्रतिनिधिहरू खटाइएको जानकारी गराएका हुन् ।

परिपत्र अनुसार, खटाइएका प्रतिनिधिहरू आगामी २०८३ असार २० गतेभित्र आफूलाई तोकिएको जिल्लामा पुगिसक्नुपर्नेछ । ‘खटाइएका प्रतिनिधिहरूले २०८३ असार २० गतेभित्र सम्बन्धित जिल्लामा पुगेर अभियान सञ्चालन गर्ने भएकाले उहाँहरूसँग आवश्यक समन्वय, सहकार्य तथा सहजीकरण गरी पालिका तथा वडा तहसम्म अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुहुन अनुरोध गरिन्छ,’ परिपत्रमा भनिएको छ ।

कांग्रेसले केही दिनअघि ३५ वर्षमुनिका युवालाई प्राथमिकतामा राखेर नयाँ क्रियाशील सदस्यता वितरण गर्न र छुटेका क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि सहजीकरण गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको थियो ।