कार्यकक्षमै प्रशासकीय अधिकृतलाई ठेकेदारले कुटे


चितवन । इच्छाकमना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलाई निर्माण व्यवसायीले हातपात गरेका छन् । बिहीबार बिहान ११ बजेको समयमा निर्माण व्यवसायी किङफिसर कन्सट्रक्सनका संचालक लालबहादुर तामाङसहितको ६ जनाको समूहले हातपात गरेको गाउँपालिकाले जनाएको छ ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी चन्द्र भूषण यादवका अनुसार क्रसर व्यवसायी तामाङ सहितको टोली कार्यकक्षमै पुगेर कुटेका हुन् ।

घटनापछि सामान्य घाइते भएका प्रमुख प्रशासकीय अधिकृत बस्नेत इच्छाकामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराएका प्रहरीले जानकारी दिएको छ । घाइते प्रशासकीय अधिकृत बस्नेतको टाउको, मुख, नाक र शरीरका अन्य भागमा चोटपटक लागेको छ ।

गाउँपालिकाका एक कर्मचारीका अनुसार आक्रमणकारीहरूले खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट जितेको विषयलाई लिएर आक्रमण गरेका हुन्।

हिजो जिल्ला अदालत चितवनमा मुद्दाको सुनुवाइ थियो। अदालतको फैसला गाउँपालिकाको पक्षमा भयो । त्यसको रिसमा कुटपिट भएको गाउँपालिका स्रोतको दाबी छ ।

प्रहरीले भने अनुसन्धान प्रक्रियामा रहेको जनाएको छ ।

यसैबीच गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले असुरक्षाको कारण देखाउँदै कामकाज ठप्प पारेका छन् । उनीहरुले सामूहिक विज्ञप्ती जारी गर्दै दोषी उपर कडा नगरेसम्म कामकाज गर्न असमर्थ रहेको जनाएका छन् ।