काठमाडौं, असार १८ । गाली बेइज्जती मुद्दामा अदालतबाट कैद र जरिवानाको सजाय पाएका पत्रकार खेम भण्डारी कारागार चलान भएका छन्। फैसला कार्यान्वयनका लागि पक्राउ परेका भण्डारीलाई बिहीबार कञ्चनपुर कारागार पठाइएको हो।
भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसार रकम बुझाएर कैद मिलान गरिपाऊँ भन्दै कानुन व्यवसायीमार्फत जिल्ला अदालत कञ्चनपुरमा निवेदन दिएका थिए। तर न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उक्त निवेदन अस्वीकार गरेपछि उनलाई कारागार चलान गरिएको तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए।
ओझाका अनुसार रकम तिरेर कैद मिलान गर्ने सुविधा पहिलोपटक कैद सजाय पाएका व्यक्तिका हकमा मात्र लागू हुन्छ। खेम भण्डारी यसअघि पनि अर्को मुद्दामा कैद सजाय पाइसकेकाले उक्त सुविधा प्राप्त गर्न नसकेको अदालतको निष्कर्ष छ। निर्मला पन्त हत्या प्रकरणसँग सम्बन्धित अर्को मुद्दामा भण्डारी यसअघि एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय पाइसकेका थिए।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग जोडिएको विषयमा प्रकाशित सामग्रीलाई लिएर दायर भएको गाली बेइज्जती मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते भण्डारीलाई दोषी ठहर गर्दै एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने फैसला गरेको थियो।



प्रतिक्रिया