बागमती प्रदेशसभा बैठकमा छलफल प्रारम्भ


मकवानपुर, असार १८ । बागमती प्रदेशसभामा आज बसेको बैठकमा प्रदेश विनियोजन विधेयक २०८३ को विभिन्न शीर्षकअन्तर्गत विषयगत विभिन्न मन्त्रालयको समूहीकृत छलफल प्रारम्भ भएको छ।

सो बैठकमा विषयगत मन्त्रालयको शीर्षकमा प्रदेशसभाका सत्तापक्ष तथा प्रतिपक्ष दलका प्रदेशसभा सदस्यसमेत गरी १९ जना छलफलमा सहभागी हुनुहुन्थ्यो। उक्त बैठकमा सत्तापक्षका सदस्यले प्रदेश सरकारले आव २०८३/८४ को बजेट अघिल्लो आव तुलनामा बजेट जनमुखी, जवाफदेही, पारदर्शी रहेकाले भौतिक पूर्वाधार संरचनाको मोडेलमा परिवर्तन गर्न आवश्यक रहेको बताए।

उक्त बैठकमा प्रतिपक्षदल, सदस्यले प्रदेशसभाका सदस्यसँग प्रदेश सरकारले विभिन्न योजनासहित बहुवर्षीय योजना समावेश गर्ने भनी गरिएको सिफारिसबमोजिम योजना घटाइएकाले चिन्ता व्यक्त गरे। उनले प्रदेशको काठमाडौं उपत्यका बाहेक अन्य क्षेत्रका १० जिल्लाका विपन्न समुदायको स्वास्थ्योपचारका लागि प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्नुपर्ने र कृषि उत्पादनका लागि नयाँ प्रविधिको प्रयोग गर्ने तथा कृषक मलखाद समयमा उपलब्ध गराउनुपर्ने जोड दिए।

उनीहरुले भीमफेदीबाट काठमाडौंतर्फ जोड्ने सुरुङमार्गको निर्माणका लागि प्रदेश सरकारले क्रमिक बहुवर्षीय योजना कार्यान्वयन गर्दै लैजान सुझाव दिनुभयो। यसैगरी, उनीहरुले सो बैठकमा प्रशासनिक खर्च घटाएर पुँजीगत खर्च गर्ने मापदण्ड तयार गरेर लागू गर्ने सरकारले नीतिलाई अघि बढाउनुपर्ने आग्रह गरे।

सो बैठकमा प्रदेशसभाका सदस्यहरु क्रमशः युवराज चौलागाईं, श्रीराम लामिछाने, केशवप्रसाद पोखरेल, रामचन्द्र ढुङ्गाना, गीता काफ्ले, मदुकुमार श्रेष्ठ, ईश्वर सापकोटा, आनन्दकुमार श्रेष्ठ, यमुनादेवी श्रेष्ठ, कृष्णप्रसाद शर्मा खनाल, रामेश्वर श्रेष्ठ र सिर्जना सैँजुले विनियोजना विधेयकमाथि छलफलमा सहभागी थिए।

यसैगरी प्रदेश सभासदस्य क्रमशः डम्बर तामाङ, भारतीय पाठक, नुरज बज्राचार्य गङ्गानारायण श्रेष्ठ, कुमारी तामाङ, सरल सहयात्री पौडेल, सुरेन्द्र राज गोरसाईले उक्त छलफल माथि आ–आफ्नो सुझाव दिएका थिए। प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले अर्को बैठक भोलि असार १९ गते बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगित गरे।