नेपालमा बढ्दैछन् तारे होटल र रिसोर्ट


काठमाडौं, असार १९ । नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक रूपमा बढेसँगै तारेस्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि तीव्र बनेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थलका रूपमा परिचित नेपालमा पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी उल्लेख्य रूपमा बढ्दै गएको छ। यससँगै होटल, रिसोर्टलगायत पर्यटन सेवामा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण पनि बढेको देखिएको छ।

पर्यटन सेवा क्षेत्रमा बढ्दो लगानीको पछिल्लो उदाहरणका रूपमा काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगञ्ज, भद्रपुरलगायत प्रमुख सहर तथा पर्यटकीय गन्तव्यमा नयाँ तारे होटल र रिसोर्ट सञ्चालनमा आउने क्रम बढेको छ।

पर्यटकस्तरका होटल प्रदेश सरकारमा दर्ता हुने व्यवस्था भए पनि तारेस्तरका होटल तथा रिसोर्ट भने पर्यटन विभागबाट दर्ता र सञ्चालन अनुमति प्राप्त गर्छन्। पर्यटन विभागका अनुसार हाल देशभर ३५० तारेस्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्। तीमध्ये २९ वटा पाँचतारे होटल रहेका छन्।

विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार गत वर्ष ३३५ तारे होटल तथा रिसोर्ट दर्ता भएकामा यस वर्ष त्यो सङ्ख्या बढेर ३५० पुगेको छ। विभागका अनुसार ४४ एकतारे, ४९ दुईतारे, ३७ तीनतारे, ४० चारतारे र २८ पाँचतारे होटल दर्ता भएका छन्।

त्यसैगरी, पाँचतारे डिलक्स होटल तीन, पाँचतारे लक्जरी बुटिक हेरिटेज होटल तीन, डिलक्स चारतारे हेरिटेज होटल पाँच, साधारण हेरिटेज बुटिक (तीनतारे) होटल एक, साधारण रिसोर्ट १२७, डिलक्स रिसोर्ट १० र लक्जरी रिसोर्ट तीन सञ्चालनमा छन्।

विभागका अनुसार दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा र २६ हजार २८५ शय्या रहेका छन्। यसले पर्यटकलाई गुणस्तरीय आवास, आधुनिक सेवासुविधा तथा अन्तरराष्ट्रियस्तरको आतिथ्य प्रदान गर्ने क्षमता विस्तार भएको विभागको भनाइ छ।

सूचना अधिकारी गौतमका अनुसार होटल तथा रिसोर्टमा लगानी बढ्दै गएपछि विभागले समयानुकूल होटल वर्गीकरण मापदण्ड परिमार्जनको प्रक्रिया अघि बढाएको छ। नेपालमा पहिलोपटक २०७० सालमा होटल वर्गीकरण मापदण्ड लागू गरिएको थियो।

सरकारले अन्तरराष्ट्रिय अभ्यास र समयको मागअनुसार २०७६ सालमा उक्त मापदण्ड संशोधन गरेको थियो। हाल अन्तरराष्ट्रिय मापदण्ड, गुणस्तर तथा इको–टुरिजमलाई समेटेर पुनः परिमार्जनको काम भइरहेको विभागले जनाएको छ। यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखाका सहसचिवको नेतृत्वमा निर्देशक समिति र पर्यटन विभागका निर्देशक तथा होटल शाखा प्रमुखको नेतृत्वमा मस्यौदा कार्यदल गठन गरिएको छ।

कार्यदलले असार मसान्तभित्र संशोधित मापदण्डको मस्यौदा मन्त्रालयमा बुझाउने तयारी गरेको छ। होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले तारे होटल तथा रिसोर्टको सङ्ख्या बढ्नुले नेपालप्रति विदेशी पर्यटकको आकर्षण बढेको संकेत गरेको बताए।

उनका अनुसार नेपाल प्राकृतिक सौन्दर्य, संस्कृति र साहसिक पर्यटनका कारण विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ।उनले पछिल्लो समय भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको र पर्यटन क्षेत्रमा विश्वासको वातावरण बिस्तारै बलियो बन्दै गएको बताए।

भारत र चीनजस्ता विशाल बजारबाट थप पर्यटक आकर्षित गर्न सकिए नेपालको पर्यटन उद्योगले ठूलो फड्को मार्ने उनको भनाइ छ। भक्तपुर–काभ्रेपलाञ्चोक सिमानास्थित मण्डनदेउपुरमा निर्माणाधीन निगालो होटलकी कार्यकारी सहायक प्रबन्धक क्रिस्टिना श्रेष्ठले होटल क्षेत्रमा बढ्दो लगानीले रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र चलायमान बनाउन तथा पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्‍याएको बताइन्।

झन्डै दुई खर्ब रुपैयाँको लगानीमा निर्माण सम्पन्न हुने तयारीमा रहेको निगालो होटलमा ६५ सुविधासम्पन्न कोठा रहेका छन्।श्रेष्ठका अनुसार अन्तरराष्ट्रिय होटल ब्रान्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि विस्तार भइरहेको छ।

उनले पर्यटक आगमन वृद्धि, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र सेवा गुणस्तर सुधारलाई निरन्तर प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। वरिष्ठ पर्यटन व्यवसायी अभिषेकविक्रम शाहले पछिल्लो समय पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी उल्लेख्य रूपमा बढेको बताए।

उनका अनुसार पर्यटनलाई प्राथमिकतामा राख्ने सरकारी नीतिका कारण होटल क्षेत्रमा लगानी गर्ने उत्साह बढेको हो।अन्तरराष्ट्रिय विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्न सके विदेशी पर्यटक आगमन उल्लेख्य रूपमा बढ्ने उनको विश्वास छ।

लाजिम्पाटस्थित बुटिक होटल र नागार्जुन रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएका शाहले भारतीय पर्यटकको बढ्दो आगमनसँगै आन्तरिक पर्यटनको चहलपहलले पनि होटल व्यवसायलाई थप उत्साहित बनाएको बताए। लाजिम्पाट बुटिक होटलका सञ्चालक लिलाप्रसाद ढकालले होटल तथा रिसोर्टको सङ्ख्या बढ्नु सकारात्मक भएको बताए।

उनले विदेशीसँगै आन्तरिक पर्यटकलाई लक्षित गरी पनि धेरै पर्यटकस्तरीय होटल सञ्चालनमा आएको उल्लेख गर्दै राज्यले होटल व्यवसायलाई समग्र उद्योगका रूपमा हेर्नुपर्ने धारणा राखे। कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किएको छ।

सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ र सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल आएका थिए। चालु वर्षको जुन महिनासम्म पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिसकेका छन्।