बागमति सरकारमा किचलाे : मुख्यमन्त्रीले आफ्नै पार्टीका सांसदहरुलाई मिलाउन सकेनन्


हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ यतिबेला अप्ठेरोमा परेका छन् । आफ्नै पार्टीका सांसदहरुले आगामी आर्थिक वर्ष २०८३.८४ को बजेटमा असहमति जनाएपछि उनी अप्ठेरोमा परेका हुन् ।

गत असार १ गते बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोडको बजेट ल्याएको छ । प्रदेशसभामा १६ असारदेखि बजेटमाथि छलफल प्रारम्भ भएको छ । तर, बागमतीका पूर्व मुख्यमन्त्री समेत रहेका कांग्रेसका सहमहामन्त्री बहादुर सिंह लामा पक्षधरका सांसदहरु बजेटप्रति असन्तुष्टि जनाउँदै बैठमका उपस्थित भएका छैनन् ।

लामापक्षका सांसदहरु प्रदेशसभाको बैठकमा सहभागि हुन हेटौडा नगएर काठमाडौंमै बसेको लामानिकटका एक सांसदले बताए ।

स्रोतका अनुसार उनीहरु बजेटको विषयलाई लिएर मात्रै नभएर मुख्यमन्त्रीको व्यवहार र भूमिकालाई लिएर पनि असन्तुष्ट बनेका छन् । बजेट निर्देशिका ल्याएर त्यसको विपरीत बजेट बिनियोजन भएको, मनलाग्दी बजेट बाँडेको , सुझाव कार्यान्वयन नगरेकोदेखि बजेटमा विचौलियाहरुको प्रभाव देखिएको विषयलाई लिएर उनीहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

मुख्यमन्त्री बानियाँले अध्यादेश ल्याएर बजेट पास गर्ने र प्रदेशसभा बैठकमा सहभागि नभए कारबाही गर्नेसम्मको धम्की लामानिकटका सांसदहरुलाई दिएको स्रोतको दाबी छ ।

सांसदहरुले बजेट सच्याउनुपर्ने माग मख्यमन्त्रीसँग राखेका छन् । लामापक्षधरका सांसदसँग मुख्यमन्त्री बानियाँले बुधवार काठमाडौंमा भेट गर्न खोजेपनि भेट हुन नसकेको स्रोतको दाबी छ ।

त्यस्तै बजेटमा सत्तारुढ दल नेकपा एमालेकै सांसदहरुले पनि विरोध जनाएका छन् । बिहीवारको बैठकमा एमाले सांसद पूर्वमन्त्री प्रेमभक्त महर्जनले बजेटमा निश्चित व्यक्ति र सांसदहरु हाबी भएको टिप्पणी गरे ।

कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार रहेकाे बागमतीमा कांग्रेसका ३७ र एमालेका २७ सांसदमध्ये तीन जनाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएकाले दुई दलसँग ६२ जना मात्रै सांसद छन् ।

१०४ सदस्यीय प्रदेशसभामा ६ जना सांसदको राजीनामापछि बहुमतका लागि ५३ जना सांसद आवश्यक पर्छ । १६ असारको बजेट छलफलमा कांग्रेसका १९ जना, १७ गतेको बैठकमा २१ जना र १८ गतेको छलफलमा १६ जना मात्रै उपस्थित भएका थिए ।

मुख्यमन्त्री बानिँयाले आफ्नो दलका सांसदहरुलाई मिलाउन नसके बजेट पारित हुन कठिन हुने देखिएको छ ।