पत्रकारिता क्षेत्रलाई कुनै पनि बहानामा त्रसित बनाउने सरकारको साेच छैन: सञ्चारमन्त्री


काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानुन वा अन्य कुनै पनि बहानामा त्रसित तुल्याउने सरकारको मनशाय नरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहेको बताए ।

पत्रकारिताको क्षेत्रमा गलत ढंगले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्ने कुरामा सरकार जानकार रहेको उनले बताए । पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको सोच, नीति वा उद्देश्य नरहेको उनको भनाइ छ ।

‘हामी पत्रकारिताको क्षेत्रलाई साइबर कानुन वा अन्य कुनै कानुनको प्रयोग गरेर त्रसित पार्न अथवा दबाब सिर्जना गर्न सरकारमा आएका होइनौँ । यो कुरा स्पष्ट रूपमा बुझ्न आग्रह गर्दछु । तपाईंहरूले साइबरसँग सम्बन्धित विषयहरू के–के हुन् भन्नेकुरा पनि जानकारीमा राख्नुपर्छ । सरकारले त्यस्ता विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था बन्यो भने त्यो सबैभन्दा राम्रो हुन्छ’, उनले भने ।