काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को ३१औँ साधारण सभा तथा निर्वाचनअन्तर्गत सचिव पदका लागि युवा पर्यटन व्यवसायी प्रकाश थपलियाले उम्मेदवारी घोषणा गरेका छन्।
धादिङका स्थायी बासिन्दा थपलिया विगत एक दशकभन्दा बढी समयदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय छन्। विदेशमा आकर्षक अवसर हुँदाहुँदै पनि स्वदेशमै बसेर पर्यटन व्यवसायमार्फत राष्ट्रको सेवा गर्ने उद्देश्यका साथ उनले आफ्नो व्यवसायिक यात्रा अघि बढाएका हुन्।

ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन तथा संस्थागत विकासमा सक्रिय रहेका थपलियाले विगत चार वर्षदेखि ठमेल पर्यटन विकास परिषद्को कार्यसमितिमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। उनले पहिलो दुई वर्ष सदस्य र पछिल्ला दुई वर्ष कोषाध्यक्षका रूपमा कार्य गर्दै परिषद्मा आर्थिक अनुशासन, पारदर्शिता, सुशासन तथा व्यवसायीबीचको सहकार्यलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
सचिव पदमा उम्मेदवारी घोषणा गर्दै थपलियाले ठमेललाई अझ व्यवस्थित, सुरक्षित, स्वच्छ र अन्तर्राष्ट्रियस्तरको पर्यटन गन्तव्यका रूपमा विकास गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्। उनले पर्यटन व्यवसायी, स्थानीय समुदाय तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्दै पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि सक्रिय, उत्तरदायी र परिणाममुखी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार परिषद्लाई अझ प्रभावकारी, व्यवसायीमैत्री र परिणाममुखी संस्थाका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम सञ्चालन गरिनेछन्। साथै, ठमेलको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउन निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्य विस्तारमा विशेष जोड दिइने उनले बताएका छन्।
पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीहरूले अनुभव, इमान्दारिता, पारदर्शी कार्यशैली तथा पर्यटन विकासप्रतिको दीर्घकालीन प्रतिबद्धताका आधारमा थपलियालाई सचिव पदका सक्षम उम्मेदवारका रूपमा हेरिरहेका छन्। आगामी निर्वाचनबाट चयन हुने नेतृत्वले ठमेलको पर्यटन प्रवर्द्धनसँगै नेपालको समग्र पर्यटन उद्योगलाई थप गतिशील, व्यवस्थित र प्रतिस्पर्धी बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया