सुर्खेत । डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा आइतबार बिहान आएको बाढीमा परी ४४ वर्षीया रेउली विक गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको छ ।
उनलाई गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्याइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।
लगातारको वर्षापछि डोल्पाको जगदुल्ला गाउँपालिका–५ स्थित गैरी गाउँमा आइतबार बिहान पहिरोसहितको बाढी बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको थियो । बाढीमा परेर ६ जना घाइते भएका थिए । बाढीले कम्तीमा १० वटा घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार, बाढीमा परी घाइते भएकी ५६ वर्षीया आनन्दी विकलाई प्रहरीले उद्धार गरी उपचारका लागि झ्याकोट स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनामा एक पुरुष, तीन महिला र दुई बालिका गरी ६ जना घाइते छन् ।



प्रतिक्रिया