डाक्टरहरूमाथि श्रम शोषण भयो: सांसद ओली


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले चिकित्सा शिक्षण संस्थाहरूमा अध्ययनरत इन्टर्न चिकित्सकहरूको श्रम शोषण भइरहेको बताएकी छन्।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरिन्।

सरकारी मेडिकल कलेजको तुलनामा निजी मेडिकल कलेजहरूमा इन्टर्न चिकित्सकहरूले निकै कम भत्तामा अत्यधिक समय काम गर्नुपर्ने बाध्यता रहेको उनले बताइन्। नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण नयाँ चिकित्सकहरूको निरन्तर श्रम शोषण भइरहेको र यसले दक्ष जनशक्ति विदेश पलायन हुने जोखिम बढाएको उनको भनाइ छ।

‘‘यो विषय चिकित्सकहरूको पेसागत हितसँग मात्र सम्बन्धित छैन, यो देशको समग्र स्वास्थ्य प्रणाली र जनस्वास्थ्यसँग गाँसिएको अत्यन्त गम्भीर राष्ट्रिय सरोकारको विषय हो,’ उनले भनिन् ।

उनले नेपालको श्रम ऐन २०७४ अनुसार तोकिएको कार्यघण्टा र न्यूनतम पारिश्रमिकको व्यवस्था इन्टर्न चिकित्सकहरूको हकमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै समान कामका लागि समान पारिश्रमिक र मर्यादित कार्यघण्टा सुनिश्चित गर्न माग गरिन्।