कर्णाली बस दुर्घटनामा रास्वपाकै सांसदले खाेजे गृहमन्त्रीकाे जवाफ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले कर्णाली नदीमा गाडी खसेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कर्णाली नदीमा गाडी खसेको विषयमा सरकारले आफ्नो सम्पूर्ण क्षमता परिचलान गर्‍यो कि गरेन भन्दै प्रश्न गरेका छन् । उनले यस विषयमा गृहमन्त्री सुधन गुरुङको स्पष्ट जवाफ मागेका छन् ।

‘सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्‍यो कि गरेन । के मान्छे भीरमा हारगुहार गरेको र विपक्षी मित्रहरूले भनेजस्तो लापरबाही भएको कुरा साँचो हो ?’ उनले भने ।

भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटना दोहोरिन नदिन सरकारसँग दीर्घकालीन योजना के–के छन् भन्दै उनले गृहमन्त्रीले जनाफ दिनुपर्ने बताए ।