सरकारले एसइई र कक्षा १२ को नतिजा प्रकाशनमा लापरबाही गर्याे : नेविसंघ


काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) की सभापति करुणा कटुवालले सरकारले १०० दिनभित्र शिक्षा क्षेत्रमा गरेका वाचा पूरा गर्न नसकेको बताएकी छन् ।

सरकारको १०० दिने कार्यकाल समीक्षा गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले शिक्षा क्षेत्रको संरचनागत सुधार, शिक्षा क्षेत्रमा दलीय भागबण्डाको अन्त्य तथा विश्वविद्यालयको स्वायत्तता कायम गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको आरोप लगाइन् ।

सरकारको सुरुवाती प्रतिबद्धताले विद्यार्थीमा आशा जगाएको भएपनि १०० दिनभित्रको कार्यप्रगतिले उत्साह निराशामा परिणत भएको उनको भनाइ छ ।

नेविसंघले सरकारले परीक्षा छिटो प्रकाशित गर्ने नाममा एसइई र कक्षा १२ को परीक्षाफल प्रकाशनमा लापरबाही गरेको आरोप लगाएको छ । पुनः योगका लागि निवेदन दिएका १ हजार विद्यार्थीको उत्तरपुस्तिका नै नभेटिनुले राज्यको सुशासनलाई नै गिज्याएको अध्यक्ष कटुवालले बताइन् ।

‘सरकारले १०० दिनभित्र शिक्षा क्षेत्रमा संरचनागत सुधार र दलीय भागबण्डाको अन्त्य गरी विश्वविद्यालयको स्वायत्तता कायम गर्ने सरकारको सङ्कल्प स्वागतयोग्य थियो, नेपाल विद्यार्थी संघले यो विषयमा बारम्बार आन्दोलन गर्दै आइरहेको विषय पनि हो तर सरकारले १०० दिनभित्र आफूले गरेका वाचा कार्यान्वयन गर्न सकेन । सरकारप्रति विद्यार्थीको जुन किसिमको उत्साह थियो, त्यो निराशामा बदलिएको छ, सरकारको १०० दिन ‘अवसर गुमेको १०० दिन’को रूपमा नेविसंघले लिएको छ ।’