आलेखः सङ्घीय राजधानी नै डुबानको चपेटामा


काठमाडौं, असार २३ । अहिले मनसुन याम, मौसमको कुनै भर हुँदैन । बिहान टन्टलापुर घाम लागिरहेको हुन्छ भने साँझ घर फर्कने बेला एक्कासी मुसलधारे वर्षा हुन थाल्छ । त्यसपछि सुरू हुन्छ, उपत्यकावासीको अर्को चिन्ता– कतै सडक जलमग्न त हुने होइन ? सवारी चालकलाई डुबेको सडक छिचोल्नुपर्ने बाध्यता हुन्छ भने पैदलयात्री सुरक्षित पाइला टेक्ने बाटो खोज्दै भौँतारिनुपर्छ ।

गत बिहीबार साँझको व्यस्त समय थियो । सरकारी तथा विभिन्न निजी कार्यालयका कर्मचारीहरू दिनभरको काम सकेर घर फर्कने तयारीमा थिए । विद्यालय र कलेजका विद्यार्थीहरू पनि पुस्तकका झोला बोकेर आफ्ना गन्तव्यतर्फ लागिरहेका थिए । सडकमा सवारीसाधनको चाप बढ्दो थियो र राजधानी आफ्नो नियमित गतिमा चलिरहेको थियो । एक्कासी आकाशमा कालो बादल मडारिएर केही क्षणमै झमझम पानी पर्न थाल्यो । वर्षा त्यति धेरै थिएन तर त्यसको असर भने केही मिनेटमै देखियो ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नजिकैको माइतीघर र अनामनगर क्षेत्र नै जलमग्न हुन थाल्यो । यीलगायत उपत्यका अन्य सडकसमेत जलमग्न बने । सडकमा गुडिरहेका सवारीसाधन पानीमै रोकिन थाले, यात्रुहरू अलपत्र परे र पैदल यात्रुहरू सुरक्षित बाटो खोज्दै भौँतारिन बाध्य भए । कतिपय कर्मचारी समयमै घर पुग्न सकेनन् । कतिपयले जोखिम मोलेर पानीमाथि मोटरसाइकल कुदाइरहेका थिए । विशेषगरी दुईपाङ्ग्रे सवारी चालकहरूका लागि डुबानले थप चुनौती सृजना गरिरहेको थियो । सडकको खाल्डाखुल्डी पानीमुनि लुकेका थिए, जसले दुर्घटनाको जोखिम अझ बढाएको थियो ।

यो दृश्य बिहीबार साँझको मात्रै होइन, पछिल्ला वर्षहरूमा राजधानी बर्सेनि डुबानमा परेको छ । मनसुन समयमा भारी वर्षा नभए पनि सडक जलमग्न हुनु, सवारी आवागमन अवरुद्ध हुनु र जनजीवन प्रभावित हुनु उपत्यकावासीका लागि लगभग नियमित समस्याजस्तै बनेको छ । प्रश्न उठ्छ– भारी वर्षा नै नभएको अवस्थामा पनि किन डुबानमा पर्छ काठमाडौँ उपत्यका ? विशेषज्ञहरूका अनुसार अव्यवस्थित सहरीकरण, साँघुरा तथा अवरुद्ध ढल प्रणाली, नदी–खोलाको अतिक्रमण, सडक निर्माणका क्रममा पानी निकासलाई बेवास्ता गर्नु र बढ्दो कङ्क्रिट संरचनाले वर्षाको पानी जमिनमा सोसिन नपाउनु यसका मुख्य कारण हुन् । केही वर्षाअघि सहज रूपमा बग्ने पानी अहिले सडक र बस्तीमै थुनिन थालेको छ ।

ढल प्रणालीमा बढ्दो चापले समस्या

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकामा पछिल्ला वर्षहरूमा देखिएको सडक डुबानको समस्या ठूलो वर्षाका कारणमात्र नभई ढल प्रणालीमा बढ्दो चाप, प्लास्टिकजन्य फोहर र पूर्वाधार निर्माणबीचको समन्वय अभावका कारण पनि जटिल बन्दै गएको जनाएको छ । केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार केयुकेएलले समय–समयमा ढल सफाइ तथा मर्मतको काम गर्दै आए पनि प्लास्टिकका झोला, बोतल, प्याकेजिङ सामग्रीलगायतका फोहर ढलमा फाल्ने प्रवृत्तिले समस्या समाधान हुनसकेको छैन । “ढल प्रणालीमा यस्ता फोहर जम्मा हुँदा पानीको बहाव अवरुद्ध हुने र सामान्य वर्षामा समेत सडकमा पानी जम्ने अवस्था सृजना हुने गरेको छ”, उहाँले भन्नुभयो, “उपत्यकाका धेरै स्थानमा खोलातर्फ बग्नुपर्ने ढलको पानी उल्टै सडकमा फैलिने समस्या देखिएको छ । हामीले बेलाबेलामा ढल सफा गर्ने काम गरिरहेका हुन्छौँ, तर प्लास्टिकजन्य फोहर र निर्माण सामग्रीका कारण फेरि पनि ढल जाम हुने समस्या दोहोरिन्छ ।”

राईका अनुसार विशेषगरी मनसुनको समयमा सडक विस्तार, मर्मत तथा अन्य निर्माण गतिविधिबाट बगेको माटो, बालुवा र धुलो ढलभित्र जम्मा हुँदा पानी निकास प्रणाली थप प्रभावित हुने गरेको छ । उहाँले सडक, ढल र अन्य सहरी पूर्वाधार निर्माण गर्ने निकायबीच पर्याप्त समन्वय नहुँदा पनि समस्या बढेको उल्लेख गर्नुभयो । सडक निर्माण वा विस्तारका क्रममा आवश्यक ढलको क्षमता, आकार र निकास प्रणालीको पर्याप्त अध्ययन तथा योजना नबन्दा वर्षाको पानी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको राईको भनाइ छ । “कुन क्षेत्रमा कति क्षमताको ढल आवश्यक पर्छ भन्ने विषयमा सम्बन्धित निकायबीच समन्वय आवश्यक छ । आवश्यकताअनुसार ढलको आकार विस्तार गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

प्रवक्ता राईले काठमाडौँ उपत्यकाको तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्याले पुरानो ढल प्रणालीमाथि थप दबाब सृजना गरेको बताउनुभयो । विगतमा वर्षाको पानी जमिनले सोस्ने क्षमता धेरै भए पनि अहिले अधिकांश खुला क्षेत्र कङ्क्रिट संरचनाले ढाकिएका कारण पानी सिधैँ ढल प्रणालीमा पुग्ने गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार घरका छाना, आँगन र पक्की संरचनाबाट बग्ने वर्षाको पानी पनि ढलमै मिसिने भएकाले केही समयमै ढल प्रणालीको क्षमता नाघ्ने अवस्था उत्पन्न हुने गरेको छ ।

जलवायु परिवर्तनका कारण वर्षाको प्रकृतिमा आएको परिवर्तनले पनि समस्या थप गम्भीर बनाएको उहाँको भनाइ छ । “पहिला वर्षा लामो समयसम्म मध्यम रूपमा हुन्थ्यो, अहिले छोटो समयमा धेरै पानी पर्ने प्रवृत्ति बढेको छ । यसले पुरानो ढल प्रणालीलाई थप चुनौती दिएको छ”, राईले बताउनुभयो । उहाँले सहरी डुबानको समस्या समाधानका लागि ढलको क्षमता विस्तार, नियमित सरसफाइ, प्लास्टिक फोहर व्यवस्थापन, वर्षाको पानी सङ्कलन तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । साथै, दीर्घकालीन समाधानका लागि पर्याप्त आर्थिक स्रोतको व्यवस्था र आधुनिक ढल पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्नेमा राईले जोड दिनुभयो ।

ढलको चाप घटाउन अकासेपानी पुर्नभरण आवश्यक

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालले उपत्यकामा दीर्घकालीन ढल व्यवस्थापन र भूजल पुनर्भरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभएको छ । उहाँका अनुसार उपत्यकामा ढललाई सिधैँ नदी तथा खोलामा मिसाउने परम्परागत प्रणालीलाई क्रमशः अन्त्य गर्दै प्रशोधनपछि मात्र पानी नदीमा प्रवाह गर्ने नीतिअनुरूप योजना कार्यान्वयन सुरु भएको छ । बरालले वर्षाको पानीलाई जमिनभित्र पुनर्भरण गर्ने उद्देश्यले विद्यालय, कलेज तथा सार्वजनिक भवनहरूमा वर्षाको पानी पुनर्भरण आयोजना सञ्चालन गरिएको जानकारी दिनुभयो । ती आयोजनामार्फत छत तथा खुला क्षेत्रबाट सङ्कलित वर्षाको पानी जमिनमुनि पठाएर भूजलको स्तर संरक्षण गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ ।

बरालका अनुसार त्रिचन्द्र बहुमुखी क्याम्पसलगायतका सार्वजनिक क्याम्पस तथा विद्यालयमा पुनर्भरण प्रणाली स्थापना गरिएको छ । त्रिचन्द्र बहुमुखी क्याम्पसको छतबाट सङ्कलन गरिएको वर्षाको पानीलाई पुनर्भरण प्रणालीमार्फत रानीपोखरी क्षेत्रमा पठाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । “हालसम्म उपत्यकाका विभिन्न स्थानमा ३०० भन्दा बढी पुनर्भरण संरचना निर्माण भइसकेका छन्”, बरालले भन्नुभयो ।

उहाँले वर्षाको पानीसँगै बगेर आउने धुलो, माटो र हिलो ढल प्रणालीभित्र प्रवेश गर्दा ढल जाम हुने समस्या बढ्दै गएको बताउनुभयो । विशेषगरी मनसुनको समयमा सडक तथा निर्माणस्थलबाट बग्ने लेदो र फोहरका कारण ढलको पानी निकास प्रभावित हुने गरेको उहाँको भनाइ छ । बरालले ढल सफाइको काम नियमित रूपमा भइरहेको भए पनि फोहर तथा माटोको अत्यधिक चापले समस्या दोहोरिने गरेको उल्लेख गर्नुभयो । उहाँले सहरी डुबानको समस्या समाधानका लागि सङ्घीय सरकार, स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताउँदै स्थानीय तहहरूले पनि ढल निकास सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । “ढल व्यवस्थापनका लागि प्रभावकारी समन्वय, वर्षा पानी व्यवस्थापन र भूजल पुनर्भरणलाई सँगसँगै अघि बढाउन सके सहरी डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ”, बरालले भन्नुभयो ।

पानी छिर्ने बाटो बन्द हुँदा सहरी डुबानको बढ्दो जोखिम

भूगर्भविद् डा सुवोध ढकालले भारी वर्षा नहुँदा पनि काठमाडौँ उपत्यकामा बढ्दो सहरी डुबानको समस्या अव्यवस्थित सहरीकरण, भूजल पुनर्भरणमा आएको कमी तथा कमजोर ढल व्यवस्थापनका कारण सृजना भएको बताउनुभएको छ । उहाँका अनुसार मनसुन सुरु हुनुअघि नै ढल, खोला र नाला सफा गर्ने कार्यलाई प्राथमिकता दिएको भए सडक डुबानका धेरै घटनालाई न्यूनीकरण गर्न सकिन्थ्यो । “वर्षालाई रोक्न नसकिने भए पनि पानीको निकासलाई व्यवस्थापन गर्न खुला जमिन राखेको भए आकाशबाट परेको आधा पानी जमिनमुनि छिर्न पाउँथ्यो र क्षति घटाउन सकिन्थ्यो”, उहाँले भन्नुभयो, “विगतमा आकाशबाट परेको पानीको ठूलो हिस्सा जमिनभित्र सोसिने र भूजल पुनर्भरण हुने गरेको थियो तर अहिले कङ्क्रिट संरचनाको विस्तारले त्यो प्राकृतिक प्रक्रिया अवरुद्ध भएको छ ।”

पछिल्लो समय सडक, पार्किङ क्षेत्र, घर तथा अन्य संरचनामा सिमेन्ट र कङ्क्रिटको प्रयोग बढेसँगै अधिकांश पानी सतहमै बग्ने गरेको भन्दै यसले छोटो समयमा धेरै पानी ढल प्रणालीमा पुग्ने र डुबानको समस्या बढाउने गरेको ढकालले बताउनुभयो । भूगर्वीय बनोटका आधारमा जमिनको पानी सोस्ने क्षमता फरकफरक हुने उहाँले बताउनुभयो । ग्राभेल र बालुवायुक्त क्षेत्रमा पानी सजिलै जमिनभित्र प्रवेश गर्न सक्ने भए पनि कुनै स्थानमा पानी कम मात्रामा सोसिने उहाँको भनाइ छ ।

डा ढकालले बढ्दो सहरीकरणसँगै भूजलको अत्यधिक दोहन भइरहेको भए पनि पुनर्भरणका प्रयास पर्याप्त नभएको बताउनुभयो । खाली जग्गा, खुला आँगन तथा सार्वजनिकस्थलहरूमा वर्षाको पानी जमिनभित्र पठाउने संरचना निर्माण गर्न सके भूजल संरक्षण र डुबान नियन्त्रण दुवैमा सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । ढकालका अनुसार घर निर्माण गर्दा सबै भूभाग कङ्क्रिटले ढाक्नुको सट्टा केही भाग खुला छाड्ने र वर्षाको पानी जमिनभित्र पठाउने व्यवस्था गर्नुपर्छ । “यदि प्रत्येक घरमा थोरैमात्र खुला जमिन राखेर पुनर्भरणको व्यवस्था गर्ने हो भने त्यसको सामूहिक प्रभाव निकै ठूलो हुनसक्छ”, उहाँले भन्नुभयो ।

ढकालका अनुसार छतबाट खेर जाने वर्षाको पानी सङ्कलन गरेर ट्याङ्कीमा राख्ने र हिउँदको समयमा प्रयोग गर्न सकेमा पनि डुबानको समस्या न्यूनीकरण गर्न सकिन्छ । भविष्यमा नयाँ सहर तथा बस्ती विकास गर्दा खुला क्षेत्र, वर्षाको पानी व्यवस्थापन र भूजल पुनर्भरणलाई अनिवार्य मापदण्डका रूपमा समावेश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “सहरीकरणको गतिअनुसार ढल व्यवस्थापन प्रणालीको सुधार आवश्यक छ”, उहाँले भन्नुभयो, “अकासे पानीलाई सकेसम्म घरघरमै सङ्कलन र व्यवस्थापन गर्न सके सहरी डुबानका समस्या न्यूनीकरण गर्न सकिन्छ ।”

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले वर्षको पानी सहज रूपमा खोला पढाउनका लागि उपत्यकाका खोलाकिनार तथा ढलमा जम्मा भएका फोहर व्यवस्थापन भइसकेको जानकारी दिनुभयो । “हामीले फोहर सफा गरे पनि एकैछिनमा धेरै वर्षा हुने भएकाले काठमाडौँमा डुबानको समस्या हट्न सकेको छैन”, उहाँले भन्नुभयो, “कसरी उपत्यका डुबान हुन नदिने भनेर प्रयास त गरेका छाँै । पछिल्लो वर्षाको प्रकृतिका कारण डुबान भएको छ ।” मानन्धरका अनुसार डुबान हुँदा काठमाडौँ महानगरपालिका उद्धारका लागि तयारी अवस्था रहेको छ ।

जलवायुका कारण वर्षाको स्वरुप परिवर्तन

जल तथा मौसम विज्ञान विभागको मौसमविद् विनु महर्जनले छोटो अवधिमा धेरै वर्षा हुँदा डुबानको समस्या हुने बताउनुभयो । “पहिला पहिला दुई–तीन दिनसम्म हल्का हल्का वर्षा भइरहन्थ्यो । तर दिनभरजस्तो हुने वर्षा अहिले एक घण्टा जतिमा हुने गरेको छ”, उहाँले भन्नुभयो, “उदाहरणका लागि, बबरमहलमा बिहीबार साँझ ४७ मिलीमिटर हाहाहारीमा वर्षा एक घण्टाको अवधिमै भयो, दिनभरिको समयमा ४७ मिलीमिटर वर्षा भएको भए डुबान नहुन सक्थ्यो । पछिल्लो समय वर्षाको स्वरुप परिवर्तन छ ।”

कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकालले पछिल्ला वर्षहरूमा छोटो समयमा अत्यधिक वर्षा हुने घटनामा वृद्धि हुनु जलवायु परिवर्तनको सम्भावित प्रभावका रूपमा लिन सकिने बताउनुभएको छ । यद्यपि, यसबारे थप वैज्ञानिक अनुसन्धान र विश्लेषण आवश्यक रहेको उहाँको भनाइ छ । ढकालका अनुसार पछिल्ला वर्षहरूमा छोटो अवधिमा अत्यधिक वर्षा हुँदा बाढी, डुबान र पूर्वाधारमा ठूलो क्षति पुग्ने गरेको छ । यस्ता घटनाबाट भएको हानि–नोक्सानीको तथ्याङ्क र अनुभवले अन्तरराष्ट्रिय जलवायु वित्त तथा हानि–नोक्सानी कोषमा नेपालको पहुँच विस्तार गर्न आधार प्रदान गर्न सक्ने उहाँले बताउनुभयो ।

ढकालले जलवायु परिवर्तनका कारण मौसमीय चरम घटनाको जोखिम बढिरहेका बेला गाउँबाट सहरतर्फको तीव्र बसाइँसराइले सहरी क्षेत्रमाथि थप दबाब सृजना गरेको बताउनुभयो । “तीव्र सहरीकरण भए पनि त्यसअनुसारको पूर्वाधार विकास र योजनाबद्ध व्यवस्थापन हुन नसक्दा जलवायुजन्य विपद्को जोखिम झन् बढ्दै गएको छ”, उहाँले भन्नुभयो