संसदमा थरीथरीका सांसद : कोही सभामुखलाई ‘कर्मचारी महोदय’, कोही ‘कान सुन्नुहुन्छ कि हुँदैन?’


काठमाडौं । प्रतिनिधिसभाको बैठकाम हामीले नँया र रोचक दृश्यहरु बेलाबेलामा देखिरहेका हुन्छौँ । सभामुखलाई जिब्रो चिप्लिएर ‘कर्मचारी महोदय’ भनेर सुनेको धेरै समय भएको छैन ।

सत्तारुढ रास्वपाका सांसद केपी खनालले आफ्नो निर्वाचन क्षेत्र कैलालीको लम्कीचुवा अस्पतालको दयनीय अवस्थाबारे सदनमा आकस्मिक समय माग गरी बोल्ने क्रममा उनले झुकिएर ‘सभामुख महोदय’ भन्नु पर्नेमा ‘कर्मचारी महोदय’ भनेका थिए ।

यसैबीच आज(असार २४ बुधबार) एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति विवादमा आएको छ । सांसद राईले माइक हातमा लिनासाथ भने, ‘सम्माननीय सभामुख महोदय, सभामुखलाई एउटा निवेदन गर्नु पर्‍यो । तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? सभामुखलाई यो निवेदन हो ।’ त्यसपछि सभामुख रिसाएर भने, ‘माननीय सदस्य आफ्नो भनाइ मर्यादामा बसेर राख्नु होला । माननीय सदस्यलाई म योभन्दा अगाडि बढ्न निर्देशन दिँदिनँ ।’

सभामुखले राईलाई बोल्न रोकेपछि एमालेका सांसदहरूले उठेर विरोध जनाए। सत्तारुढ दलकी सांसद ज्वाला सङ्ग्रौलाले राईको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरिन्।

त्यसपछि सभामुखले माफी मागेर आफ्नो भनाइ सच्च्याउन भन्दै राईलाई दोस्रो पटक बोल्न समय दिए। उनले फेरि बोल्न सुरु गर्दै सभामुखले ५ वर्ष सदन चलाउन नसक्ने बताए। ‘तपाईँले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन ?’ भन्दै प्रश्न गरे । सभामुखले बीचमै रोकेर १५ मिनेटका लागि बैठक नै स्थगित गरे ।