चीनमा बाढी र पहिरोको कहर


बेइजिङ, २४ असार । चीनका विभिन्न क्षेत्रमा आएको भीषण वर्षा, बाढी, आँधीबेहरी र पहिरोका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने उद्धारकर्मीहरूले अझै प्रभावित क्षेत्रमा बेपत्ताको खोजी जारी राखेका छन् । अधिकारीहरूले आगामी दिनमा पनि वर्षा जारी रहने चेतावनी दिँदै जलाशय, नदी र तटबन्ध उच्च जोखिममा रहेको बताएका छन् ।

टाइफुन मेसाकका कारण परेको अविरल वर्षापछि दक्षिणी गुआङ्सी क्षेत्रमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । क्षेत्रीय अधिकारीहरूले गुआङ्सी र छिमेकी गुआङ्डोङ प्रान्तमा थप वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन् ।

राज्य सञ्चारमाध्यमका अनुसार तीव्र बाढीले गुआङ्सीका ४० वटा नदी तथा जलमार्गको किनार भत्काएको छ भने करिब १३ हजार एकड कृषि भूमि डुबान र कटानबाट प्रभावित भएको छ । गुआङ्सीस्थित एक जलाशयको बाँध फुटेपछि उद्धार टोलीहरूले डुङ्गामार्फत उद्धार अभियान सञ्चालन गरिरहेका छन् । प्रभावित क्षेत्रमा खाद्यान्न, रेनकोट, रबर डुङ्गालगायत थप राहत सामग्री पठाइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

राज्य बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले गुआङ्सीमा बाढी नियन्त्रणको दोस्रो उच्च तहको आपतकालीन सतर्कता कायम राखेको छ । जलस्रोत मन्त्री ली गुओइङका अनुसार वुझोउ जलमापन केन्द्रमा नदीको सतह चेतावनी तहभन्दा छ मिटरभन्दा बढी पुग्ने अनुमान गरिएको छ । लगातारको वर्षा र लामो समयसम्म उच्च बहाव कायम रहँदा जलाशय तथा तटबन्धको सुरक्षाले गम्भीर परीक्षा सामना गरिरहेको उहाँले बताउनुभयो ।

यसैबीच मध्य चीनको हुबेई प्रान्तमा आएको आँधीबेहरीका कारण थप ११ जनाको मृत्यु भएको छ भने ३३१ जना घाइते भएका छन् । एक जना अझै बेपत्ता छन् । आँधीले करिब चार हजार ८०० घरमा क्षति पु¥याएको छ भने २२ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहत कार्यमा पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिनुभएको राज्य प्रसारक सिसिटिभीले जनाएको छ ।

अर्कोतर्फ उत्तरपश्चिमी गान्सु प्रान्तमा मङ्गलबार बिहान आएको पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या २१ पुगेको छ । डाङचाङ काउन्टीको रेन्काङ गाउँमा गएको पहिरोले ३३ जनालाई पुरेको थियो । स्थानीय अधिकारीहरूका अनुसार खोज तथा उद्धार अभियान सम्पन्न भइसकेको छ भने पहिरोको कारणबारे अनुसन्धान जारी छ ।

पहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि तीन करोड युआन (करिब ४४ लाख अमेरिकी डलर) बराबरको कोष छुट्याइएको चिनियाँ अधिकारीहरूले जनाएका छन् । रासस