नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूहको परिचयात्मक बैठक सम्पन्न


काठमाडौं । नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूहको परिचयात्मक बैठक सम्पन्न भएको छ।

बुधबार सिंहदरबारमा मैत्री समूहकी संयोजक सांसद खुश्बु ओलीको अध्यक्षतामा भएको बैठकमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. डेनियल मेउली, दूतावासका प्रतिनिधि, संसदीय मैत्री समूहका सदस्य, परराष्ट्र मन्त्रालय तथा संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा नेपाल–स्विट्जरल्याण्डबीच सात दशकदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई संसदीय कूटनीतिमार्फत थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।

बैठकले नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूहलाई नियमित संवाद, संसदीय भ्रमण, अनुभव आदानप्रदान तथा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने सक्रिय मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।