प्रधानमन्त्री बालेनले गरे निजि उद्यमीहरुसँग भेट, के भयाे छलफल ?


काठमाडौं । आज पहिलोपटक प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीहरु सँग छलफल गरेका छन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेनले निजि उद्यमीहरुलाई बोलाएर छलफल गरेका हुन् । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधिहरुको उपस्थिति रहेको थियो ।

छलफलमा प्रधानमन्त्रीले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको बताएका छन् । सरकारको मुख्य उद्देश्य ‘देश बनाउने’ रहेको र त्यसमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने प्रधानमन्त्रीले बताएको परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले जानकारी दिए ।

‘देश बनाउन निजी क्षेत्रको ठूलो भूमिका हुन्छ, त्यसो हुँदा सरकारले निजी क्षेत्रलाई साथ नै लिएर अघि बढ्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ उनले भने । त्यस्तै छलफलमा प्रधानमन्त्रीले ‘विशेष आर्थिक क्षेत्रमा किन उद्योग आएनन् ?’ भन्ने चासो राखेको पनि अग्रवालले बताए ।

प्रधानमन्त्रीसँगको भेटपछि निजी क्षेत्र निकै उत्साहित देखिएको छ । उक्त भेटमा व्यवसायीहरूले पछिल्लो समय उद्यमीहरूमाथि भइरहेको धरपकड र अमर्यादित व्यवहारको विषयमा चासो राखेको चेम्बरका अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए । उनका अनुसार निजी क्षेत्रको कुरा सुनेपछि जवाफमा प्रधानमन्त्री शाहले सरकारको नीति कसैलाई तर्साउने वा दुख दिने नरहेको प्रस्ट पारे ।

प्रधानमन्त्रीसँगको छलफलमा महासंघबाट अध्यक्ष अञ्जन श्रेष्ठ र उद्योग समिति सभापति उज्ज्वल श्रेष्ठ, परिसंघबाट निवर्तमान अध्यक्ष अग्रवाल र महानिर्देशक घनश्याम ओझा तथा चेम्बरबाट अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी रहेका थिए ।