प्रधानमन्त्रीसँगको भेटपछि निजी क्षेत्र उत्साहित,के आश्वासन दिए बालेनले ?


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकारको नीति कसैलाई तर्साउने वा दुख दिने नरहेको बताएका छन्।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले बालेनले निजि उद्यमीहरुलाई बोलाएर छलफल गर्ने क्रममा उनले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको प्रष्ट पारेको चेम्बरका अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए ।

छलफलमा सरकारको मुख्य उद्देश्य ‘देश बनाउने’ रहेको र त्यसमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने प्रधानमन्त्रीले बताए । भेटमा व्यवसायीहरूले पछिल्लो समय उद्यमीहरूमाथि भइरहेको धरपकड र अमर्यादित व्यवहारको विषयमा चासो राखेपछि उनले यस्तो बताएका हुन् ।

‘देश बनाउन निजी क्षेत्रको ठूलो भूमिका हुन्छ, त्यसो हुँदा सरकारले निजी क्षेत्रलाई साथ नै लिएर अघि बढ्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ उनले भने । त्यस्तै छलफलमा प्रधानमन्त्रीले ‘विशेष आर्थिक क्षेत्रमा किन उद्योग आएनन् ?’ भन्ने चासो राखेको पनि अग्रवालले बताए ।

प्रधानमन्त्रीसँगको छलफलमा महासंघबाट अध्यक्ष अञ्जन श्रेष्ठ र उद्योग समिति सभापति उज्ज्वल श्रेष्ठ, परिसंघबाट निवर्तमान अध्यक्ष अग्रवाल र महानिर्देशक घनश्याम ओझा तथा चेम्बरबाट अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी रहेका थिए ।