तुइन खोलामा पहिरो रोकथाम सुरु


चितवन, २४ असार । आज तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय, चितवनले सम्झौताका लागि आह्वान भएको छ ।

आगामी १० महिनाभित्र काम सम्पन्न गर्ने गरी रु २२ करोड २१ लाखको लागतमा तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्न लागिएको हो । खोलामा गइरहने पहिरोका कारण यसअघि यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।

पहिरोको उच्च जोखिममा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा गत वर्षको असोज ३ र ७ गते ठूलो पहिरो खस्दा १०४ घण्टा सडक अवरुद्ध भएको थियो ।

डिभिजन सडक कार्यालय, चितवनका प्राविधिक अर्जुन घिमिरेले सम्झौताअनुसार छनोट भएको कम्पनीले तुइन खोलामा आगामी दश महिनाभित्रनै पहिरो रोकथामको काम सक्नुपर्ने प्रावधान रहेको जानकारी दिए ।

घिमिरेले खोलाको नारायणगढतर्फको भित्तोमा रोकथाम गर्न लागिएको पर्खालको लम्बाइ १६५ मिटर र चौडाइ १०५ मिटर रहेको बताए ।

केही वर्ष अघि सडक विस्तारका क्रममा सडक खनिएको काटिएको भित्तामा गत वर्ष एकाएक पहिरो खसेपछि सो स्थान जोखिममा परेको थियो ।

सो सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले पहिरो पन्छाउन मुग्लिन र सेती दोभानमा तयारी अवस्थामा उपकरण राखिएका छन् ।