निजामती अस्पतालका फार्मेसी अधिकृत ढुङ्गानासहित ८ जनाविरुद्ध मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती अस्पतालका ८ जना कर्मचारीविरुद्ध पौने ३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अस्पतालको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुङ्गानासहित ८ जनाविरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूमाथि २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप छ ।

अस्पतालको फार्मेसीमा रहेका म्याद सकिएका तथा म्याद सकिन लागेका औषधिहरू आपूर्तिकर्ता फर्म र अस्पतालबिच भएको सम्झौताको शर्तबमोजिम फिर्ता गर्नुपर्ने हुन्थ्यो । तर, उनीहरूले सो नगरी÷नगराई अस्पताल र सार्वजनिक सम्पत्तिलाई हानि–नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ ।

मुद्दा दायर गरिएका कर्मचारीहरूमा दीपा ढुङ्गाना, लबेन्द्र कुँवर, दिनेश पन्त, दीपक सापकोटा, विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दिप तिवारी रहेका छन् ।

अख्तियारले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रकम २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ नै कायम गरी कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।