दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा हुन लागेको नारायणकाजीको दाबी


काठमाडौं, असार २४ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा भइरहेको जनाएका छन्। सरकार नेपालको असंलग्न परराष्ट्र नीतिबाट विचलित हुन लागेको भन्दै चिन्ता व्यक्त गर्दै उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रिय सार्वभौमिकता र स्वाधीनता विरुद्ध कुनै पनि गतिविधि नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।

नेपालमा पछिल्लो समय विकसित घटनाक्रमप्रति शंका व्यक्त गर्दै नेता श्रेष्ठले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा र उनको कथित सरकारको तर्फबाट बधाई आएदेखि नै यसको अन्तर्यका बारेमा गम्भीर आशंका सहित चर्चा हुँदै आएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘यो सामान्य घटना होइन । यसले वर्तमान सरकार नेपालको परराष्ट्र नीतिमा गम्भीर विचलनतर्फ उन्मुख हुँदैछ भन्ने आशंकालाई बल पुर्‍याएको छ ।’ ‘सरकारले नेपालले लिँदै आएको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई औपचारिकतामा सीमित गर्दै व्यवहारमा त्यसबाट विचलन भएर कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ पूरा गर्ने दिशामा अघि बढ्यो भने त्यसले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई गम्भीर जोखिम र संकटमा धकेल्नेछ । ’

परराष्ट्र नीतिमा हुने यस्तो विचलन देशभक्त नेपाली जनताका लागि किमार्थ स्वीकार्य नहुने भन्दै उनले त्यस्तो अवस्थामा त्यसको सशक्त प्रतिरोध अनिवार्य हुने समेत चेतावनी दिएका छन् ।