कैलाली । ‘हामी बालेनको पुलिस होइनौँ’ भनेर कैलालीको एक सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिएका इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ।
चौधरीमाथि प्रधानमन्त्रीको नाम जोडेर दिएको अभिव्यक्तिबारे मात्र होइन, कार्यशैली र विगतका गतिविधिसम्बन्धी विभिन्न उजुरीका आधारमा सोधपुछ गर्न बोलाइएको प्रहरी स्रोतले बतायो ।
डीएसपी चौधरीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै भनेका थिए, ‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो।’
सोही कार्यक्रममा उनले आफूहरू कुनै राजनीतिक दल वा नेताको प्रभावमा नभएको भन्दै जनप्रतिनिधिप्रति पनि टिप्पणी गरेका थिए। ती अभिव्यक्तिलाई लिएर समेत प्रश्न उठेको छ। यस्ता सन्दर्भ र अभिव्यक्तिको आशय बुझ्न पनि उनलाई जिल्ला झिकाइएको प्रहरीले जनाएको छ। प्रहरी नेतृत्वले आवश्यक परामर्श तथा छानबिनका लागि उनलाई जिल्ला बोलाएको जनाएको छ।



प्रतिक्रिया