सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै


धनगढी । बुधबार स्थगित भएको सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गर्ने कार्यसूची रहेको छ।

बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएपछि सभामुख भीम भण्डारीले बैठक स्थगित गरेका थिए।

प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेट २३ दिनपछि मात्रै प्रदेश सभामा टेबुल गरेको थियो। बजेट टेबुल भएसँगै सत्ता साझेदार नेकपा (एमाले) ले संशोधन प्रस्ताव ल्याउने तयारी गरेको छ। एमाले संसदीय दलले बजेट यथास्थितिमा पारित गर्न नहुने निर्णय गर्दै संशोधन प्रस्ताव दर्ता गर्ने जनाएको छ।