वाशिङटन डीसी । अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै करिब ९० वटा सैन्य लक्ष्यमा प्रहार गरेको जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)ले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार यी आक्रमणहरू इरानको स्ट्रेट अफ होर्मुज क्षेत्रमा व्यावसायिक जहाज र सर्वसाधारण समुद्री यात्रुमाथि आक्रमण गर्ने क्षमतालाई थप कमजोर पार्ने उद्देश्यले गरिएको हो ।
सेन्टकमका अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, नौसैनिक क्षमता र सैन्य रसद पूर्वाधारलाई मुख्य लक्ष्य बनाइएको थियो । यी अधिकांश लक्ष्य इरानको तटीय क्षेत्रमा अवस्थित थिए ।
अमेरिकी सेनाले यो कारबाही अघिल्लो रात सम्पन्न गरिएको सफल सैन्य अभियानको निरन्तरता भएको जनाएको छ। सेन्टकमले सामाजिक सञ्जाल एक्समा हवाई आक्रमणको भिडियोसमेत सार्वजनिक गर्दै यस अभियानले इरानको समुद्री आक्रमण क्षमता थप कमजोर बनाएको दाबी गरेको छ । एजेन्सी



प्रतिक्रिया