सांसद बरालको भनाइ: ‘गरिबको आँसु महँगो हुनेछ’


काठमाडौँ । नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले सुकुमबासी समुदायको व्यवस्थापन र मानवअधिकारका सवालमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सुकुमबासीप्रति सरकारले अपनाएको नीति र व्यवहारमाथि कडा आपत्ति जनाइन्।

सांसद बरालले संसदमार्फत सरकारलाई प्रश्न गरिन्, ‘सुकुमबासी जनता हुन् कि होइनन् ? उहाँहरूले बाँच्न पाउने कि नपाउने? र, उहाँहरूलाई २५ हजार रुपैयाँ हातमा थमाएर सडकमा धकेल्दा मानवअधिकार हनन हुन्छ कि हुँदैन?’

गरिब र सीमान्तकृत वर्गको पीडाप्रति सरकार संवेदनशील नभएको आरोप लगाउँदै उनले ‘गरिबका आँसु महँगो हुने’ चेतावनी समेत दिइन्।

यस्तै, सांसद बरालले सरकारका कतिपय योजनाहरू प्रचारमुखी मात्र भएको भन्दै आलोचना गरेकी छन्। साझा यातायातको प्रसङ्ग जोड्दै उनले भनिन्, ‘साझा यातायातको रङ फेरेर देशभर चलाउने हो कि फेसबुकका भित्ता रङ्गाउन मात्र प्रचार गरिएको हो?’ उनले सरकारलाई भुइँमान्छेका वास्तविक समस्या समाधान गर्न र सस्तो लोकप्रियताका पछि नलाग्न आग्रह गरेकी छन्।