कार्यदलबाट एमाले पनि बाहिरियाे,लगायाे यस्ताे‍ आराेप


काठमाडौं । नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ । पार्टी महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै कार्यदलको कामकारबाही ‘सन्दिग्ध’ रहेको र यसले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममा प्रहार गर्न खोजेको आरोप लगाउँदै प्रतिनिधि फिर्ता बोलाइएको जानकारी गराएका छन् ।

गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन लेखन कार्य भने अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त कार्यदलमा एमालेका तर्फबाट डा. भीष्म अधिकारी सहभागी थिए । तर, कार्यदलको कार्यशैली र उद्देश्यप्रति असन्तुष्टि जनाउँदै एमालेले आफ्ना प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको हो ।

एकार्यदलको काम कारबाही सुरुदेखि नै संदिग्ध प्रकृतिको रहेको, संविधान संशोधनका विषयहरू किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रस्ट नभएको, संशोधनका लागि बहसमा ल्याइएका विषयहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा देखिएको जस्ता कारणले सरकारको भूमिका स्पष्ट गर्न माग गर्न माग गरे पनि सुनुवाइ नभएको एमालेको भनाइ छ ।

वर्तमान संविधानका आधारभूत विषयलाई सुदृढ बनाउन र विगतका कमजोरी सुधार्न एमाले प्रतिबद्ध रहे पनि कार्यदलले व्यवस्थालाई नै खलबल्याउने उद्देश्य राखेको एमालेको जिकिर छ ।

यसअघि ४ वटा दलहरू कार्यदलबाट बाहिरिसकेका छन् ।